लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो।
आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाव भइरहेको बताउनुभयो । यो यस वर्षकै सबैभन्दा बढी मापन हो।
यसअघि आज विहान सात दशमलब ४० मिटरको विन्दुसम्म पुगेको थियो। वर्षा रोकिएकाले बहाव घट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो। कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्। पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन्।
बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ। शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत चिन्तित बनेका छन्। प्रवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको तिलक पराजुलीले जानकारी दिनुभयो। शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रूपमा क्षति पुगेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया