नेवास् देय दबु वीरगञ्ज महानगर कमिटीले शनिबार ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको लाखे नाच भव्यरूपमा आयोजना गरेको छ। परम्परा संरक्षण र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यो सांस्कृतिक यात्रा गणेशमान चौकबाट सुरु भई बिर्ता मन्दिरमा समापन भएको हो।
कार्यक्रममा नेवारी समुदायका युवा, किशोर तथा बालबालिकाको उत्साहपूर्ण सहभागिता रह्यो भने नगरवासीहरूको ठूलो भीडले कार्यक्रममा रंग भरेको थियो। सहभागीहरूले परम्परागत बाजागाजा, ढोल, भाका र नेवारी पोशाकसहित लाखेको रूप धारण गरी प्रस्तुत गरेको नृत्यले नगरभर उत्सवमय वातावरण सिर्जना गर्यो।
आयोजक कमिटीका पदाधिकारीहरूले लाखे नाचलाई असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरमाथि सुरको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले समुदायबीच एकता, भाइचारा र सांस्कृतिक चेतना जागृत गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए।
वीरगञ्ज महानगरपालिकाले पनि लाखे नाचलाई महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने घोषणा गर्दै बहुसांस्कृतिक सहअस्तित्वलाई बलियो बनाउन यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जनायो।यस अवसरमा विभिन्न संघसंस्था, सामाजिक अगुवा तथा स्थानीय वासीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ भव्य र प्रभावशाली बनाएको थियो।
प्रतिक्रिया