थाइल्यान्ड र कम्बोडियाबीचको सीमामा जारी तनावपूर्ण अवस्था थप खतरनाक मोडमा पुगेको छ ।
कम्बोडियाका अधिकारीहरूले शनिबार जानकारी दिएअनुसार सीमामा भएको झडपका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म दुवै देशमा कुल ३२ जनाको मृत्यु भइसकेको अलजजिराले जनाएको छ । मृतकहरूमा सैनिकहरूका साथै सर्वसाधारण पनि छन् । १३० जना घाइते भएका छन् ।
झडपका कारण दुवै देशका सीमावर्ती क्षेत्रबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा शरण लिनुपरेको बताइएको छ । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार ५८ हजारभन्दा बढी मानिस प्रभावित जिल्लाहरूबाट निकालिएका छन् ।
कम्बोडियाका अधिकारीहरूले करिब २३ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएर दुवै पक्षलाई संयम अपनाउन अपिल गरेको छ । कम्बोडियाका संयुक्त राष्ट्रसंघ राजदूतले झडपलाई लिएर संयुक्त राष्ट्रसँघले तत्काल युद्धविरामको अपिल गरेका बताएका छन् ।
आसियानको अध्यक्षता गरिरहेको मलेसियाले पनि यो तनाव अन्त्य गर्न मध्यस्थताको प्रस्ताव गरेको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुवै देशले युद्धविरामको सैद्धान्तिक सहमति दिएको बताए ।
कम्बोडियाका एक सैनिक मारिएपछि तनावको सुरुवात मे महिनामा भएको थियो । हालै सीमामा बारूदी सुरङ विस्फोट हुँदा पाँच थाई सैनिक घाइते भएपछि टकराव थप बढ्यो ।
त्यसपछि थाई सेनाले जवाफी कारबाही गर्यो र सीमामा धेरै स्थानमा भारी गोलीबारी भयो ।
केही मानिसहरू आफ्नो घरनजिक बंकर बनाएर ज्यान जोगाइरहेका छन् । थाइल्यान्डको सुरिन जिल्लामा मानिसहरूले विद्यालय र विश्वविद्यालयहरूमा बनाइएका शिविरहरूमा शरण लिएका छन् ।
बकम्बोडियाई अधिकारीहरूले थाई सेनाले बौद्ध मन्दिर र विद्याललाई निशाना बनाएको आरोप लगाएका छन् । थाई सेनाले अस्वीकार गर्दै कम्बोडियाले आफ्ना तोपहरू नागरिक क्षेत्रमा लुकाएको बताएको छ ।
यो झडपमा बालबालिका र वृद्धवृद्धाको पनि ज्यान गएको छ, जसले अवस्थालाई थप चिन्ताजनक बनाएको छ । अलजजिरा

प्रतिक्रिया