पर्सा, असार २४ — पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा प्रहरीले भन्सार छली गरी ल्याइएका काजु तथा लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा लिएको छ।
मंगलबार राति करिब ३:४५ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जादै गरेको प्रदेश नं। २–०३–००१ ख ५६०९ नम्बरको ट्रक विशेष सुचनाको आधारमा प्रहरी टोलीले जाँच गर्दा इँटा लोड गरिएको देखिए पनि भित्र लुकाइछिपाइ राखिएका काजु, सटिङ सुटिङ कपडा, कुर्ता सुरुवाल र लेडिज टप्स फेला परेको हो।
प्रहरीका अनुसार उक्त ट्रक भन्सार छली गरी चोरी पैठारी गरिएको मालसामान ओसारपसारको प्रयोजनका लागि प्रयोग गरिएको आशंका गरिएको छ।
पक्राउ परेका व्यक्ति निकेश राउत कुर्मी (२८ वर्ष) – निजगढ नगरपालिका–४, बारा ,सागर परियार (२४ वर्ष) – स्थायी ठेगाना नखुलाइएको र विष्णु पाठक (३८ वर्ष) – स्थायी ठेगाना नखुलाइएको ।
पक्राउ परेका व्यक्तिहरूसँगै नियन्त्रणमा लिइएको ट्रक तथा त्यसमा लुकाइएको मालसामानको कुल अनुमानित मूल्य ४१ लाख ७८ हजार ८ सय रहेको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक र तीनै जना व्यक्तिहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाएको छ।
प्रतिक्रिया