वीरगञ्ज : पर्साको विन्ध्यवासिनी गाउँपालिका–३, इटियाही घरेलु हिंसाबाट ज्यान गुमाएकी रजिया खातुनको सम्झनामा उनको परिवारले स्थापना गरेको रजिया स्मृति प्रतिष्ठानले नेपाल स्काउट आधारभूत विद्यालयमा खानेपानी प्रणाली जडान गरेको छ।
प्रतिष्ठानका अध्यक्ष तथा जसपा नेता तबरेज अहमदले आफ्नै निजी खर्चमा विद्यालयमा विद्युतीय पानी तान्ने मोटर, १ हजार लिटर क्षमताको पानी ट्यांकी, पिउने पानीका लागि ५ वटा धार, साथै शौचालयका लागि ७ वटा अतिरिक्त धार जडान गरेका छन्।
शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष अहमदले उक्त खानेपानी प्रणालीको औपचारिक उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई हस्तान्तरण गरेका हुन्। विद्यालयका प्रधानाध्यापक प्रमोद चौरसियाका अनुसार यस प्रणालीबाट करिब ५ सय विद्यार्थी र शिक्षक–शिक्षिकाहरू लाभान्वित हुनेछन्।
अहमदले बताएअनुसार प्रतिष्ठानले स्वर्गीय रजियाको नाममा स्थापना भएपछि परिवारजनकै आम्दानीबाट बचत गरिएको रकम प्रयोग गरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ। गत वर्ष पनि उनले वीरगन्जका युवा पत्रकार स्व। नरेश सर्राफको स्मृतिमा स्थापित युवा पत्रकारिता पुरस्कारका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेका थिए।
उनका अनुसार, भारतमा विवाह भएको ९ वर्षअघि रजियाको ससुराली पक्षबाट दिइएको शारीरिक तथा मानसिक यातनाका कारण मृत्यु भएको थियो। रजियाको सम्झनामा समाजसेवी गतिविधि गर्दै प्रतिष्ठान अगाडि बढिरहेको अध्यक्ष अहमदले बताएका छन्।
.jpg)
प्रतिक्रिया