वीरगञ्ज : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली साउन ९ गते शुक्रवार बारा आउने भएका छन् ।
बारास्थित परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने प्रधानमन्त्री ओली बारा आउन लागेका हुन् ।
दिउँसो २ बजे आयोजना हुने उक्त उद्घाटन समारोहमा नेकपा एमालेका अगुवा, नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थितिका लागि नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष तथा वीरगञ्ज महानगर इन्चार्ज बिचारी यादवले जानकारी दिए ।
यसैबिच, मधेस प्रदेशको ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको ठोरी गाउँपालिकाको लागि तय गरिएको प्रधानमन्त्री ओलीको बहु प्रतीक्षित भ्रमण भने अन्तिम समयमा स्थगित भएको छ ।
पर्सा जिल्लाको ठोरीमा पनि साउन ९ गते नै आयोजना हुने ‘निर्मलबस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली आउने कार्यक्रम रहे पनि राजनीतिक व्यस्तताका कारण भ्रमण स्थगित भएको बुझिएको छ ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सोमबार राति भ्रमण स्थगित भएको पुष्टि गर्दै स्थानीय स्तरमा निराशा छाएको बताए । “प्रधानमन्त्री ओलीको आगमनले ठोरीको पर्यटन, पूर्वाधार विकास र राजनीतिक महत्वलाई थप उचाइ दिने अपेक्षा थियो,” उनले भने ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि ठोरी–२ स्थित राइधारा परिसरमा भव्य स्वागत समारोहको तयारी गरिएको पनि भ्रमण स्थगन भएसँगै सबै तयारी अलपत्र बनेका छन् ।
नेकपा एमाले स्रोतका अनुसार, पार्टीको नवौँ केन्द्रीय समिति बैठक र पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक भूमिकाबारे उत्पन्न बहसका कारण प्रधानमन्त्री ओलीको भ्रमण प्राथमिकतामा पर्न सकेन ।
.jpg)
प्रतिक्रिया