नेकपा (माओवादी केन्द्र)ले पार्टी एकता प्रक्रियाबाट समायोजन भएका विभिन्न पार्टीका २० जना नयाँ वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गरेको छ।
पर्सा जिल्लाबाट बाबुराम कौशिक पनि वैकल्पिक केन्द्रीय सदस्यमा चयन भएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा असार २६ गते बसेको पार्टी केन्द्रीय कार्यालय पदाधिकारीको बैठकले नयाँ सदस्यहरू थप गर्ने निर्णय गरेको हो। बैठकले मनोनीत सदस्यहरूको कार्यक्षेत्र उनीहरूको स्थायी ठेगाना रहेको प्रदेशमै रहने स्पष्ट पारेको छ।
पार्टीले यस निर्णयलाई संगठन विस्तार तथा पार्टी एकता प्रक्रियालाई थप संस्थागत गर्नुपर्ने आवश्यकताको निरन्तरता मानेको छ।
त्यसैगरी, विगतमा समायोजनमा परेका अन्य सदस्यहरूको जिम्मेवारी पनि यथावत् रहने निर्णय गरिएको छ। मधेश प्रदेश गठन नहुँदासम्म सम्मेलनको तयारी गर्नका लागि एकता प्रक्रियाबाट आएका सदस्यहरूलाई समेट्दै पुरानै प्रदेश समितिलाई तदर्थ समितिका रूपमा क्रियाशील राख्ने निर्णय गरिएको छ।
माओवादी केन्द्रमा भर्खरै थपिएका वैकल्पिक केन्द्रीय सदस्यहरू पर्साबाट बाबुराम कौशिक रहेका छन भने किरण थापा – कास्की, कृष्ण कुमार भण्डारी – काभ्रे, मिनबहादुर दर्जी – झापा, कृष्ण सापकोटा – बागलुङ, मोदनाथ तिमिल्सिना – सिन्धुली, प्रमिला यादव – धनुषा, मेघराज तामाङ – रामेछाप, डा. जयनारायण यादव – सिराहा, राजु महर्जन – काठमाडौं, टीका कन्दङ्वा – तेह्रथुम, अनिता थिङ – काभ्रे, शंकर अधिकारी – धादिङ, बद्री विलास मिश्र – लमजुङ, शोभा माझी – सिन्धुली, राकेश साह – महोत्तरी, राजन कुमार दनुवार (डोने) – उदयपुर, राजु क्षेत्री – कास्की, भरत प्रसाद साह – बारा, मुकुन्द दाहाल – महोत्तरीबाट मनोनित गरिएको हो ।
यो निर्णयसँगै पार्टी संगठनलाई मधेशलगायतका प्रदेशमा अझ सुदृढ बनाउँदै लैजाने अपेक्षा गरिएको छ।
प्रतिक्रिया