वीरगञ्ज : ‘कसैलाई पनि रगतको अभावमा मृत्युवरण गर्न नपरोस्’ भन्ने उद्देश्यका साथ वीरगञ्ज सिटी मार्केट परिवारको आयोजनामा शनिवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
वीरगञ्ज घण्टाघरस्थित रोयल पार्टी प्यालेसमा बिहान भएको कार्यक्रममा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र प्रमुख आतिथ्यमयमा सम्पन्न कार्यक्रममा एक महिलासहित ५१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका संयोजक बिक्की सर्राफका अनुसार पछिल्लो समय वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा देखिएको रगतको अभाव र नेपाल रेडकरेस सोसाइटी पर्साले रक्तदान कार्यक्रमहरू सञ्चालन गर्ने आह्वानलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
स्वैच्छिक रूपमा रक्तदान गर्ने सम्पूर्णलाई कार्यक्रमका प्रमुख अतिथि एसपी गौतम मिश्रले धन्यवाद दिए । उनले रक्तदानजस्तो मानवीय कार्य समाज परिवर्तनको उदाहरणीय पहल भएको बताउँदै आयोजक टोली प्रति पनि आभार प्रकट गरे ।
कार्यक्रमको सफल आयोजनामा उल्लेखनीय भूमिका खेल्ने पिन्टु रौनियारलगायतको टोली, स्वयंसेवक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समेत सक्रिय सहयोग रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिता जनाएका सम्पूर्णप्रति आयोजक संस्थाले आभार प्रकट गर्दै रक्त अभावजस्ता सङ्कट समाधानका लागि सामूहिक प्रयास आवश्यक भएको धारणा राखेको छ ।
वीरगञ्ज सिटी मार्केट परिवारले यस्ता सामाजिक तथा मानवसेवा मूलक कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया