पर्सा– अत्यधिक गर्मी र लामो खडेरीपछि अन्ततः वर्षा भएसँगै पर्सा जिल्लाका किसानहरू धान रोपाइमा व्यस्त भएका छन्। असार महिनाको दोस्रो साता भित्रिनासाथ परेको झरीले किसानहरूमा आशा जागेको छ।
विगत केही हप्तादेखि वर्षा नहुँदा खेत सुक्खा थिए र रोपाइ ठप्पजस्तै भएको थियो। तर हालैको वर्षाले खेतमा पर्याप्त पानी जम्मा हुन थालेपछि किसानहरू हलो जोत्न र रोपाइँ गर्न सुरु गरेका छन्।
विशेषगरी वीरगञ्ज, पोखरिया, जगरनाथपुर, बिर्ता र पटेर्वासुगौली लगायतका क्षेत्रका किसानहरू विहानदेखि बेलुकासम्म रोपाइमै व्यस्त छन्। जगरनाथपुरका स्थानीय किसान रामप्रसाद महतोले भने, “यसपालि ढिलो पानी परे पनि अब रोपाइ गर्न पाएकोमा खुसी लागेको छ। खेती गर्न पाउने आशामा हामी उत्साहित छौं।”
कृषि प्राविधिकहरूका अनुसार समयमै पानी परे धान उत्पादनमा ठूलो ह्रास नआउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया