भरतपुर : अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा शनिबार भरतपुर औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजित रक्तदान महोत्सवमा १,७१७ जनाले रक्तदान गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाले आयोजित यस महोत्सवमा जिल्लाका सातवटै पालिकाबाट रक्तदाताहरूको सहभागिता रहेको थियो।
सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १,५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १८१ युनिट रगत स्टोर गरेका छन्। यसले आपतकालीन अवस्थामा रगतको आपूर्ति सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
सोसाइटीका चितवन अध्यक्ष एकराज बुर्लाकोटीका अनुसार, “उपचारका क्रममा रगतको अभाव हुने गरेको छ। तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन। रक्तदानप्रति अग्रसर हुने सन्देश दिन यो बृहत् कार्यक्रम आयोजना गरेका हौँ।” सोही क्रममा, सोसाइटीका सचिव विपिन पाठकले यस महोत्सवले एकै दिनमा एकै स्थानमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्ड कायम गरेको बताए।
यसअघि, लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेका थिए। यसपटकको महोत्सवले उक्त रेकर्डलाई पार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
.jpeg)
प्रतिक्रिया