वीरगञ्ज । चालु आर्थिक वर्ष २०८०–८१ को १० महिनामा वीरगञ्ज भन्सार नाका हुँदै चारपाङ्ग्रे सवारीसाधनको आयातमा उल्लेख्य गिरावट देखिएको छ। सवारीसाधन आयात घटेसँगै भन्सारमार्फत संकलित राजस्वमा पनि कमी आएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्मको अवधिमा रु एक अर्ब ५३ करोड मूल्य बराबरका ७३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन्। यो अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै ४२ प्रतिशतले कम हो। गत आवको समान अवधिमा १,२६७ वटा सवारीसाधन भित्रिएका थिए, जसको मूल्य रु दुई अर्ब सात करोड थियो।
आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ। चालु आवको १० महिनामा इन्धनबाट चल्ने सवारीसाधनबाट रु चार अर्ब तीन करोड मात्र राजस्व संकलन भएको छ, जबकि गत आवको सोही अवधिमा रु चार अर्ब ३९ करोड राजस्व संकलन भएको थियो।
त्यस्तै, ट्रक र मिनिट्रकको आयातमा पनि गिरावट आएको छ। चालु आवको सोही अवधिमा २३१ वटा ट्रक तथा मिनिट्रक भित्रिएका छन्, जसको मूल्य रु ५३ करोड छ। अघिल्लो आवमा भने ७६४ वटा ट्रकरमिनिट्रक, रु दुई अर्ब १२ करोड मूल्यका भित्रिएका थिए।
विद्युतीय सवारीसाधनको आयात पनि घटेको देखिएको छ। चालु आवको १० महिनामा रु ४२ करोड मूल्यका १७४ वटा विद्युतीय जीप, कार र भ्यान आयात भए। गत आवको सोही अवधिमा भने ४४८ वटा सवारीसाधन, रु ९५ करोड मूल्यका भित्रिएका थिए।
यद्यपि सवारीसाधनको एकाइ संख्यामा कमी देखिए पनि समग्र मूल्यमा भने आंशिक वृद्धि देखिएको छ। चालु आवको १० महिनामा वीरगञ्ज भन्सार नाका हुँदै २६ थरिका साना–ठूला सवारीसाधन गरी रु १८ अर्ब ५२ करोड मूल्य बराबरका दुई करोड १४ लाख ७५ हजार ४७१ वटा सवारीसाधन आयात भएका छन्। तीबाट कार्यालयले रु १५ अर्ब २४ करोड राजस्व संकलन गरेको छ।
गत आवको सोही अवधिमा रु १७ अर्ब पाँच करोड मूल्य बराबरका दुई करोड ७० लाख २२ हजार २२२ वटा सवारीसाधन आयात भएका थिए, जसबाट रु १३ अर्ब ४४ करोड राजस्व संकलन भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार हाल सवारीसाधन आयातमा अन्य नाकाहरूको तुलनामा वीरगञ्जको हिस्सा घट्दै गएको छ। विविध कारणले गर्दा वीरगञ्ज नाकाबाट सवारीसाधन आयात घट्दै गएको जनाइएको छ।

प्रतिक्रिया