१२ जेठ काठमाडौँ । आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने ९५ हजार ३४९ करदाताको भ्याट दर्ता एकसाथ निलम्बन गरेको छ।
विभागले सोमबार एक सूचना जारी गर्दै निलम्बनमा परेका करदाताको नामावली आफ्नै वेबसाइटमार्फत सार्वजनिक गरेको छ। यसअघि विभागले गोरखापत्र दैनिकमार्फत पनि निलम्बनसम्बन्धी सूचना प्रकाशन गरिसकेको थियो।
विभागका अनुसार दर्ता निलम्बनमा परेका करदाताले सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गरी कारोबार नियमित गर्नुपर्नेछ।
निलम्बन अघि विभागले करदाताहरुलाई कर विवरण पेस गर्न १५ दिनको अल्टिमेटम दिएको थियो । उक्त समयावधिमा विवरण पेश नभएपछि उनीहरूको दर्ता निलम्बन गरिएको विभागले जनाएको छ।
दर्ता निलम्बन भएका करदाताले कर विवरण बुझाई कारोबार नियमित गरेपछि दर्ता पुनः सक्रिय हुने व्यवस्था गरिएको छ। विभागले करदाताहरुलाई कानून अनुसार नियमित कारोबार र विवरण पेस गर्न समेत आग्रह गरेको छ।


प्रतिक्रिया