स्थानीय बासिन्दाका अनुसार सामान्य वर्षा हुँदा समेत सडक र आसपासको क्षेत्र जलमग्न हुने गरेको छ। पानीको उचित निकास नहुँदा सडक नै जोखिमपूर्ण बन्दै गएको छ भने विद्यालय आउने–जाने बालबालिकालाई विशेष जोखिम उत्पन्न भएको उनीहरूको भनाइ छ। सडकमा जमेको पानीसँगै खुला नाला भएकाले साना बालबालिका नालामा खस्ने वा दुर्घटनामा पर्ने सम्भावना बढेको भन्दै अभिभावकहरू चिन्तित बनेका छन्।
स्थानीयका अनुसार यो समस्या कुनै नयाँ होइन। विगत केही वर्षदेखि वर्षायाममा दोहोरिँदै आएको यस समस्याबारे वडा कार्यालय तथा महानगरपालिकालाई पटक–पटक जानकारी गराइएको भए पनि प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ। आधारभूत पूर्वाधार व्यवस्थापनमा देखिएको लापरवाहीका कारण सर्वसाधारणले अनावश्यक सास्ती खेप्न बाध्य भएको स्थानीयको आरोप छ।
स्थानीयवासीले विशेष गरी वडा नम्बर १३ का वडाध्यक्षको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्। चार वर्षभन्दा बढी कार्यकाल बितिसक्दा पनि नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको यस्तो समस्याको स्थलगत अनुगमन, आवश्यक योजना निर्माण तथा समाधानका लागि कुनै उल्लेखनीय पहल नगर्नु जनप्रतिनिधिको दायित्वप्रतिको उदासीनताको उदाहरण भएको उनीहरूको भनाइ छ। जनताको सुरक्षा, सडक मर्मत, ढल व्यवस्थापन तथा वर्षायाममा हुने जोखिम न्यूनीकरण वडा कार्यालयको प्राथमिक जिम्मेवारी भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्थानीयको आरोप छ।
स्थानीयले वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको समेत यसतर्फ तत्काल ध्यानाकर्षण गराएका छन्। नागरिकको जीवन र बालबालिकाको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयलाई बेवास्ता गरिरहनु कुनै पनि हिसाबले उचित नहुने उनीहरूको भनाइ छ। यदि समयमै आवश्यक पूर्वाधार निर्माण, ढल निकासको व्यवस्थापन तथा सडक सुधारको काम अघि नबढाइए कुनै अप्रिय घटना हुन सक्ने भन्दै सम्बन्धित निकायलाई स्थानीयले सचेत गराएका छन्।
स्थानीयवासीले तत्काल प्राविधिक अध्ययन गरी जल निकासको स्थायी व्यवस्था, सडकको स्तर सुधार तथा वर्षायाममा हुने डुबान नियन्त्रणका लागि प्रभावकारी योजना कार्यान्वयन गर्न माग गरेका छन्। विकासका नाममा औपचारिकता पूरा गर्नेभन्दा पनि नागरिकको सुरक्षा र जनजीवन सहज बनाउने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनीहरूको जोड छ।
