वीरगञ्ज: धार्मिक आस्था, भक्ति तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले श्री गहवा माई रथ यात्राको चौथो संस्करण आगामी २०८३ साल असार ३२ गते बिहीबार बिहान ७:०० बजेदेखि वीरगञ्जमा आयोजना हुने भएको छ।
रथ यात्रालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सामाजिक अभियन्ता तथा युवा नेता अकलेश कुमार साहले गहवा माईप्रति श्रद्धा राख्ने सम्पूर्ण भक्तजनलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन। उनले सामाजिक सञ्जालमार्फत हरेक वर्षझैं यस वर्ष पनि हजारौं श्रद्धालुको उत्साहजनक सहभागितामा रथ यात्रा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन।
साहले रथ यात्रा केवल धार्मिक कार्यक्रम मात्र नभई धार्मिक सद्भाव, आस्था, भक्ति र सामाजिक एकतालाई थप सुदृढ बनाउने महत्वपूर्ण अभियान भएको बताएका छन। उनले सम्पूर्ण भक्तजनलाई समयमै उपस्थित भई अनुशासित, मर्यादित र भक्तिभावका साथ रथ यात्रामा सहभागी हुन आग्रह समेत गरेका छन।
आयोजकका अनुसार "आस्था, भक्ति र एकताको प्रतीक" का रूपमा प्रत्येक वर्ष आयोजना हुँदै आएको श्री गहवा माई रथ यात्रा यस वर्ष पनि श्रद्धा, उत्साह र भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिएको छ। रथ यात्रामा विभिन्न धार्मिक झाँकी, भजन–कीर्तन तथा हेलिकप्टरबाट पुष्पवर्षा गरिने जनाएको छ।
