प्रदेशको समग्र विकास र समृद्धिको खाका प्रस्तुत गर्नका लागि आज साँझ ५ बजे प्रदेशसभाको विशेष बैठक आह्वान गरिएको छ। उक्त बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको नयाँ नीति तथा कार्यक्रम संसद् समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकलाई मर्यादित र व्यवस्थित बनाउन प्रदेशसभाका सम्पूर्ण सदस्यहरूलाई निर्धारित समयभन्दा १५ मिनेट अगावै औपचारिक पोसाकमा उपस्थित हुन प्रदेशसभा सचिवालयले निर्देशन जारी गरेको छ ।
यसअघि सोमबार साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको यस नीति तथा कार्यक्रमलाई परिमार्जनसहित पारित गरेको थियो । नयाँ नीति तथा कार्यक्रमका बारेमा जानकारी दिँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यस पटकको योजना पूर्ण रूपमा गरिब जनतामुखी, नागरिकमैत्री र प्रतिफलमुखी हुने दाबी गर्नुभएको छ । सरकारले केवल परम्परागत ढाँचामा नभई व्यावहारिक र कार्यान्वयन हुन सक्ने योजनाहरूलाई प्राथमिकतामा राखेको संकेत मुख्यमन्त्रीको भनाइले गरेको छ ।
विशेष गरी कृषि क्षेत्रको आधुनिकीकरण, उद्यमशीलता प्रवर्द्धन, दिगो विकास, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार जस्ता बहुआयामिक क्षेत्रहरूलाई समेटेर यो कार्यक्रम तयार पारिएको बुझिएको छ । सरकारले यस पटक सत्तापक्षको मात्र नभई प्रतिपक्षका रचनात्मक सुझावहरूलाई समेत समावेश गरेको दाबी गरेको छ ।
विपक्षी दलहरूको आवाजलाई समेत समेटिएकाले यस नीति तथा कार्यक्रमले प्रदेशको सर्वपक्षीय विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने र संसद्मा पनि सर्वस्वीकार्य बन्ने अपेक्षा सरकारले राखेको छ ।

प्रतिक्रिया