रङ र उमङ्गको पर्व होली आज मधेस–तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। हिमाली तथा पहाडी क्षेत्रमा फागु पूर्णिमाको भोलिपल्ट मनाइने परम्पराअनुसार तराईमा आज रंगोत्सवको रौनक छाएको हो। मंगलबार परेकाले कतिपय बर्तालुहरूले माछा–मासु नखाने चलनलाई ध्यानमा राख्दै बुधबार पनि उत्सव मनाउने तयारी गरेका छन्।
आज नवलपरासी (बर्दघाट सुस्तापूर्व/पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा होलीको विशेष चहलपहल देखिएको छ। बजार, टोल–टोल र चौकमा युवादेखि वृद्धसम्म रङ खेल्दै, अबिर उडाउँदै र संगीतमा झुम्दै देखिन्छन।
मगर तथा थारु समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा होलीलाई सांस्कृतिक पहिचानसँग जोडेर विशेष महत्त्वका साथ मनाउने परम्परा छ। यहाँ ढोल, डम्फु र मृदङ्गको तालमा नाचगान गर्दै सामूहिक रूपमा रंगोत्सव मनाइन्छ।
धार्मिक–सांस्कृतिक दृष्टिले होलीलाई असत्यमाथि सत्य, अधर्ममाथि धर्म र छलमाथि निश्छलताको विजयको प्रतीक मानिन्छ। अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भाव र आपसी भाइचारा सुदृढ गर्ने पर्व होली हो।” प्राचीन वसन्तोत्सवबाट विकसित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका र ढुण्ढा आदिका कथासँग जोडिँदै फागु, फगुवा, होली, होरी जस्ता नामबाट मनाइँदै आएको छ।
यस वर्ष पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिइएको थियो भने तराईमा आज बिदा दिइएको छ।
यसैबीच, होलीलाई मर्यादित र सुरक्षित बनाउन पर्सा लगायत विभिन्न जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको छ। प्रहरीले अनुमतिबिना रङ दल्ने, लोला हान्ने, झैझगडा गर्ने वा अभद्र व्यवहार गर्ने गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिनेछ।
प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, छाला तथा आँखामा हानि पुर्याउने रासायनिक रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। कुनै आपराधिक गतिविधि देखिएमा प्रहरी हटलाइन १०० मा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।
रङले भेदभाव भष्म पार्दै आपसी सद्भाव, एकता र भाइचाराको सन्देश फैलाउने पर्व होलीले यसपटक पनि तराईका बस्तीहरूलाई उत्साह र उमङ्गले रंगाएको छ।

प्रतिक्रिया