वीरगञ्ज- नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा आज सम्पन्न बृहत कार्यकर्ता भेलाले जिल्लामा एमालेको जनआधार झनै मजबुत भएको स्पष्ट संकेत दिएको छ। पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष एवं पूर्व मन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा जसपा लगायत विभिन्न राजनीतिक दल परित्याग गरी हजारौँको संख्यामा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन।
वीरगञ्ज महानगरपालिका–१० स्थित नगर सभा गृहमा सम्पन्न कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीका शीर्ष नेताहरूले खादा र टीका लगाएर भव्य स्वागत गर्दै नेकपा एमालेको परिवारमा आवद्ध गराएका थिए। कार्यक्रममा देखिएको उत्साह, सहभागिता र जनसागरले पर्सामा एमालेको बढ्दो जनलहरलाई प्रष्ट देखिएको छ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेश प्रदेश कमिटी अध्यक्ष चन्द्रेश्वर मण्डल, उपाध्यक्ष बिचारी यादवसहित प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रदीप यादव, क्षेत्र नम्बर–२ की रिमा कुमारी, क्षेत्र नम्बर–३ का रूपेश कुमार पाण्डेय र क्षेत्र नम्बर–४ का जामिल मियालाई पार्टी कमिटीद्वारा सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा नेताहरूले आगामी निर्वाचनमा एमालेको ऐतिहासिक जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको सहजीकरण गरिरहेका जिल्ला कमिटी सचिव महेश दासले पार्टी प्रवेशको लहर निरन्तर जारी रहेको उल्लेख गर्दै रातिसम्म कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकाले बाँकी प्रवेश कार्यक्रम जिल्लाका १४ वटै स्थानीय तहका वडाहरूमा क्रमशः आयोजना गरिने जानकारी गराए।
कार्यकर्ता भेलाले पर्सा जिल्लामा नेकपा एमालेप्रति जनविश्वास मजबुत हुँदै गएको, विपक्षी दलहरू कमजोर बन्दै गएको र आगामी निर्वाचनमा एमाले निर्णायक शक्तिका रूपमा स्थापित हुने स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया