वीरगञ्ज- अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषादले नेकपा एमालेको नेतृत्वमा देशले देखेको अभूतपूर्व विकास सहन नसकेर देशी दलाल र विदेशी शक्तिहरूको मिलेमतोमा जननिर्वाचित सरकार ढालिएको कडा आरोप लगाएका छन।
पर्साको बहुदरमाई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै निषादले आक्रोशपूर्ण भाषामा भने, “एमालेले जनताको पक्षमा काम गर्यो, त्यसैले षड्यन्त्र भयो। विकास, स्थायित्व र राष्ट्रिय स्वाभिमान एमालेबाटै सुनिश्चित हुन्छ भन्ने डरले विदेशी शक्तिहरू सक्रिय भएको बताए।
उनले वृद्धभत्ता, एकल महिला भत्ता विस्तार, ७५३ वटै स्थानीय तहमा अस्पताल निर्माणको ठोस आधार, भूकम्पपछिको पुनर्निर्माण सम्पन्न र राष्ट्रको गौरव धराहरा पुनःनिर्माणलाई एमाले सरकारको ऐतिहासिक उपलब्धि भन्दै प्रश्न गरे “यी काम नगर्ने सरकारलाई कसले हटायो र किन?”
निषादले अमेरिकी प्रभावमा केही तत्वहरू प्रयोग गरी भदौ २३ र २४ गते योजनाबद्ध आन्दोलन गराइएको दाबी गर्दै भने, “यो आन्दोलन विकासविरोधी, जनविरोधी र राष्ट्रघाती मानसिकताको उपज हो। जनताको सरकारलाई सडकबाट हटाउने खेल अब स्वीकार्य छैन।
देशलाई अस्थिरता र परनिर्भरताको दलदलबाट निकाल्ने एक मात्र शक्ति नेकपा एमाले भएको ठोकुवा गर्दै उनले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार रूपेश कुमार पाण्डेलाई जिताउनु राष्ट्रिय आवश्यकतासमेत भएको बताए। “अब भाषण होइन काम चाहिन्छ, र काम गर्ने नेतृत्व रूपेश पाण्डे हुन्,” उनले स्पष्ट पारे।
सभामा सहभागी वक्ताहरूले पनि एमालेविरोधी षड्यन्त्रलाई मतदानबाट परास्त गर्ने उद्घोष गर्दै पर्सा–३ मा एमालेको जित सुनिश्चित हुने दाबी गरे। बहुदरमाईबाट उठेको यो आवाज अब सिंगो पर्सामा परिवर्तनको लहर बनेको छ।

प्रतिक्रिया