पर्सा निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी समीकरणमा फेरबदल आएको छ ।
प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका राजेश्वर साहले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नम्बर–२ को निर्वाचन कार्यालयका अनुसार साहले उम्मेदवारी फिर्ता लिने तोकिएको समयसीमाभित्र निवेदन दर्ता गराउँदै उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन अधिकृत मधुसुदन आचार्यले कानुनी प्रक्रिया पूरा भइसकेको पुष्टि गरेका छन् ।
अब निर्वाचन कार्यालयले सबै क्षेत्रको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।
साथै, आजै सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिएपछि साहले आफू नेपाली कांग्रेस समर्थक भएको खुलासा गर्दै आन्तरिक समन्वयको अभावमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
अब भने उनले कांग्रेसका आधिकारिक उम्मेदवारको पक्षमा खुलेर लाग्ने घोषणा गरेका छन् ।
राजेश्वर साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ मा कांग्रेसको चुनावी रणनीतिलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

प्रतिक्रिया