वीरगञ्ज- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादव पुनः राजनीतिक चर्चाको केन्द्रमा आएका छन । यादवले विगतका काम, संकटका बेला देखाएको सक्रियता र विकासप्रतिको प्रतिबद्धताले उनलाई जनविश्वासको बलियो आधार प्रदान गरेको देखिन्छ । यही कारणले यादवको जित लगभग सुनिश्चितजस्तै देखिन थालेको छ ।
पूर्व मन्त्रीसमेत रहेका यादवको आत्मविश्वास केवल चुनावी नारामा सीमित छैन । विगतमा उनले निर्वाह गरेको जिम्मेवारी र जनतासँग प्रत्यक्ष रूपमा जोडिएका कामहरूले नै आजको राजनीतिक माहोल निर्माण गरेको देखिन्छ । विशेषगरी वीरगञ्जमा खानेपानीको गम्भीर संकट उत्पन्न हुँदा मन्त्रीको हैसियतमा करोडौं रुपैयाँ बराबरको खानेपानी आयोजनालाई अघि बढाउनु यादवको ठूलो उपलब्धिका रूपमा लिइन्छ । लामो समय देखी खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दाले त्यो कदमलाई आज पनि सकारात्मक रूपमा स्मरण गर्ने गरेका छन ।
त्यसैगरी कोभिड–१९ महामारीजस्तो कठिन समयमा यादव सडकमा देखिनु, सर्वसाधारणको दुःख–दर्दमा सहभागी हुनु र राहत तथा व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुले जनतामाझ उनको छवि “संकटमा साथ दिने नेता” को रूपमा स्थापित गरेको छ । धेरै नेताहरू संकटका बेला सम्पर्कविहीन बनेको आरोप खेपिरहेका बेला यादवको सक्रियता स्थानीय स्तरमा प्रशंसाको विषय बनेको थियो ।
राजनीतिक रूपमा हेर्दा, पर्सा–१ मा एमालेको संगठनात्मक अवस्था मजबुत देखिन्छ । कार्यकर्ता परिचालन, टोल–टोलमा जनसम्पर्क र विगतका उपलब्धिको प्रस्तुतिले एमालेले चुनावी माहोल आफ्नो पक्षमा बनाउँदै लगेको छ । प्रदीप यादवप्रति देखिएको जनविश्वास र संगठनको सक्रियताले उनलाई तेस्रो पटक जित दिलाएर ‘ह्याट्रिक’ गर्ने सम्भावना बलियो बन्दै गएको देखिन्छ ।
समसामयिक राजनीतिक सन्दर्भमा, मतदाताहरू विकास, स्थायित्व र संकट व्यवस्थापनमा प्रमाणित नेताको खोजीमा रहेको देखिन्छ । यही चाहनालाई सम्बोधन गर्ने पात्रका रूपमा प्रदीप यादव प्रस्तुत भइरहेका छन । एमालेले अघि सारेको विकासमुखी एजेन्डा र यादवको व्यक्तिगत कार्यसम्पादनले पर्सा–१ मा पार्टीको पक्षमा सकारात्मक लहर सिर्जना भएको छ ।
समग्रमा, विगतका काम, जनतासँगको सम्बन्ध र संगठनात्मक मजबुतीका कारण पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमाले र उम्मेदवार प्रदीप यादव चुनावी दौडमा अग्रस्थानमा देखिएका छन । यदि यही गति कायम रह्यो भने आगामी निर्वाचनमा यादवले पुनः जित हात पार्दै राजनीतिक ‘ह्याट्रिक’ पूरा गर्ने सम्भावना उच्च रहेको देखिन्छ ।

प्रतिक्रिया