पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठक सम्पन्न भएको छ। बैठकले आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै उम्मेदवार छनोट प्रक्रियालाई तीव्र बनाएको छ।
क्षेत्रीय संयोजक फर्मान मियाको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा प्रतिनिधि सभाका लागि १० जना आकांक्षीको नाम प्रस्ताव गरिएको छ। उम्मेदवारको रुपमा नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, युवा उधमी रूपेश कुमार पाण्डे, नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पूर्व मन्त्री राजकुमार गुप्ता, केन्द्रिय सल्लाहकार परिषद सदस्य शिव पटेल, पर्सा जिल्ला कमिटी सदस्य भगवान कुर्मी, पूर्व प्रदेश सभा सदस्य मञ्जुर अंसारी, प्रमोद जयसवाल, लगायत रामवावु यादव, मनिर मिया र मञ्जु देवि कुर्मी रहेका छन। तर बैठकको समग्र माहोल र राजनीतिक संकेतले युवा, समावेशी र समसामयिक नेतृत्वको माग तीव्र रूपमा उठेको देखिएको छ।
यसै सन्दर्भमा नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद र युवा उद्यमी रूपेश कुमार पाण्डे क्षेत्र नम्बर–३ का लागि आशालाग्दा र चर्चित अनुहारका रूपमा उभिएका छन।
पर्सा–३ जस्तो विविध सामाजिक संरचना भएको क्षेत्रमा अब पुरानै अनुहार होइन, जनतासँग प्रत्यक्ष जोडिएका, ऊर्जा र दृष्टिकोण भएका युवा नेतृत्व आवश्यक छ। तेजप्रकाश नेपाली निषाद ओबिसी समुदायको सशक्त आवाजका रूपमा राष्ट्रिय राजनीतिमा स्थापित नाम हुन भने रूपेश कुमार पाण्डे स्थानीय तहमा उद्यम, रोजगार र युवा सशक्तिकरणको मुद्दामा सक्रिय रहँदै आएका छन।
स्थानीय स्तरमा दुवै युवा नेताहरूको संगठनात्मक क्षमता, जनसम्पर्क र चुनावी जितको सम्भावना बलियो देखिएको छ। विशेषतः युवा मतदाता, मध्यम वर्ग र पिछडावर्ग समुदायमा उनीहरूको प्रभाव बढ्दो क्रममा रहेको देखिएको छ।
पोखरीया स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न बैठकमा केन्द्रीय कमिटी सदस्य बिजयी सरावगी, मधेस प्रदेश उपाध्यक्ष बिचारी यादव, जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, उपाध्यक्ष मनोज कुमार गुप्ता, जालिम मिया लगायत जिल्ला, क्षेत्र र पालिकास्तरीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
वक्ताहरूले पार्टी हित र क्षेत्रको समग्र विकासका लागि जित सुनिश्चित गर्न सक्ने उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएका थिए। यही सन्दर्भमा युवा, समावेशी र परिवर्तनमुखी छवि बोकेका निषाद र पाण्डे क्षेत्र नम्बर–३ का लागि उपयुक्त विकल्प बन्न सक्ने चर्चा देखिएको हो।
फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रीय कमिटीबाट सिफारिस भएका नाम जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पठाइने प्रक्रिया अगाडि बढेको छ।
क्षेत्रको बिकासको लागि निषाद र पाण्डेको भिजन प्रति बढ्दो राजनीतिक समर्थनले एमाले पर्सा–३ मा पुस्तान्तरण र नयाँ सोचतर्फ अग्रसर हुँदै गएको संकेत दिएको छ।

प्रतिक्रिया