पर्सा– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति जनआकर्षण तीव्र बन्दै गएको छ । यही परिवेशमा व्यावसायिक पृष्ठभूमिबाट सामाजिक क्षेत्रमा सक्रिय रुपेश पाण्डेय पर्सा–३ का युवादेखि व्यापारी र बुद्धिजीवीसम्मको साझा अपेक्षाको केन्द्रमा उभिन थालेका छन् ।
समाजसेवा, जनसंवाद र समस्या समाधानमा केन्द्रित उनको निरन्तर सक्रियताले गाउँ–बस्ती र बजार क्षेत्रमा ‘काम गर्ने नेतृत्व’ को नयाँ पहिचान बनाएको स्थानीयको बुझाइ छ ।
दैनिक रूपमा स्थानीयवासीसँग भेटघाट गर्दै पाण्डेय चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर नागरिकका समस्या सुन्ने, बुझ्ने र सम्भावित समाधानका मार्ग प्रस्तुत गर्दै आएका छन् । उनले अबको राजनीति नाराभन्दा योजनामा, प्रतिस्पर्धाभन्दा परिणाममा र भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन् ।
पोखरिया, पकाहाँ, महुवन, चीपुरलगायत बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने तथा धार्मिक स्थल प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र पर्यटन विकास गर्ने एजेन्डालाई उनले प्राथमिकतामा राखेका छन् । राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर धार्मिक गन्तव्यलाई राष्ट्रिय स्तरको आकर्षण बनाउने उनको योजनालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।
देशभर युवाको नेतृत्वबारे आवाज उठाएको जेन(जी आन्दोलनपछि पर्सामा पनि नयाँ सोच र नयाँ पुस्ताको नेतृत्वप्रति माग बढ्दै गएको छ । यही माहौलमा पाण्डेयको निरन्तर जनसम्पर्कले उनको लोकप्रियता थप उँचो बनाएको देखिन्छ ।
मानिकपुर–२ का एक स्थानीय बासिन्दाका अनुसार चुनावको बेला मात्र देखिने पुरानो प्रवृत्तिभन्दा फरक ढङ्गले जनताको समस्या सुन्ने र समाधानतर्फ उन्मुख नेतृत्वको आवश्यकता महसुस भइरहेको छ, र त्यो भूमिका पाण्डेयले निभाइरहेका छन् । पोखरिया बजारकी एक व्यवसायी महिलाले बजार व्यवस्थापन, ढिलाइरहित निर्णय र व्यवहारिक कार्य योजनालाई अहिलेको मुख्य आवश्यकता बताउँदै पाण्डेयको योजनालाई कार्यान्वयनयोग्य रहेको प्रतिक्रिया दिएकी छन् ।
पाण्डेयले पर्सा–३ अन्तर्गतका सात स्थानीय तह र ३५ वडालाई एकीकृत दीर्घकालीन विकास योजनामा जोड्दै आर्थिक, सामाजिक र पूर्वाधार सुधारलाई केन्द्रमा राखेका छन् । विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि निर्वाचित भए पनि अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै उनले अब परिणाममुखी, जिम्मेवार र पारदर्शी नेतृत्व अपरिहार्य भएको धारणा व्यक्त गर्दै आएका छन् । उनका अनुसार नेतृत्वको मूल्याङ्कन पार्टी वा पहुँचका आधारमा होइन, नागरिकका समस्या समाधान गर्न सक्ने क्षमताबाट हुनुपर्छ ।
धर्म–संस्कृति संरक्षण, मेलमिलाप, सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने पाण्डेयको दृष्टिकोणले स्थानीय समुदायमा उनको छवि अझै मजबुत बनाएको छ । साझा मुद्दामा समुदायलाई एकताबद्ध गरेर अघि बढ्न सक्ने नेतृत्व गुण पाण्डेयमै देखिएको पर्साका बुद्धिजीवी, व्यवसायी तथा युवाको साझा बुझाइ छ । निरन्तर जनतामाझ रहेर उनीहरूको मर्म र भावना बुझ्दै आएको कारण पाण्डेय अहिले पर्सा–३ मा मात्र होइन, पुरै जिल्लामा युवा पुस्ताका लागि सबैभन्दा उर्जाशील र आशालाग्दो सम्भावित नेतृत्वका रूपमा हेरिन थालेका छन् ।
उनको विचारमा नेतृत्वको मूल्याङ्कन पार्टीको झन्डा, पहुँच वा भाषणका आधारमा होइन, नागरिकका दैनिक समस्या समाधान गर्न सक्ने क्षमताका आधारमा हुनुपर्छ । यही कारण उनले पार्टीगत प्रतिस्पर्धाभन्दा माथि उठेर साझा मुद्दामा सहकार्य गर्ने संस्कृतिको वकालत गर्दै आएका छन् ।

प्रतिक्रिया